कास्की, मंसिर १० - पोखरामा बिहीबारदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु भएको छ । मेलाका कारण पोखरा प्रदर्शनी केन्द्र दुलहीझैं सिँगारिएको छ । मेलामा सामान्य घरायसी उपभोग्यदेखि घरेलु हस्तकला, अटोलगायत सामग्री राखिएका छन् ।
मेलामा राखिएको 'पोखरा मण्डप' ले दर्शकको ध्यान खिचेको छ । पोखराका उत्पादन तथा सेवालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा प्रचारका लागि यसै वर्षदेखि यस्तो मण्डप बनाइएको स्टल निर्माण तथा बिक्री व्यवस्थापन समिति संयोजक ईश्वरप्रसाद कर्माचार्यले बताए । मेलामा सजिएका ३३ स्टल छन् । 'दुरुस्तै पोखराजस्तै सहर मेलामा देखियो,' स्याङ्जाबाट आएका डिआर न्यौपानेले भने, 'पोखराका उत्पादनले झन् मनै लोभ्यायो ।' मण्डपमा फेवाताल, विश्वशान्ति स्तुपा, विन्ध्यावासिनी मन्दिर, माछापुच्छे्रे हिमाललगायत दृश्यले सजाइएको छ ।
मेलाका बैंक र वित्तीय संस्थाका स्टलहरूमा खाता खोल्नेको लस्कर देखिन्छ । विभिन्न सुविधा राखेर बैंकहरूले ग्राहक तानिरहेका छन् । त्यस्तै विभिन्न ब्रान्डका गाडीको बुकिङ गर्नेहरू बढेका छन् । सुरुको दिन ५ हजार दर्शकले मेला अवलोकन गरेको प्रचारप्रसार संयोजक संजीवबहादुर कोइरालाले बताए । मेलामा अत्याधुनिक डोममा निर्मित विशेष प्रकारका २ सय ७१ स्टल छन् । तीमध्ये डोममा ७८, रेस्टुरेन्ट १३, अटो ४५, पोखरा मण्डपमा ३३, कृषि तथा हस्तकलामा १७, फ्लोरिकल्चरलमा ९ र बाँकी साधारण स्टल छन् ।
मेलामा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी संघसंस्थाका गतिविधि छन् । त्यस्तै दैनिक उपभोग्य वस्तु, घरायसी सामान, लत्ताकपडा, शृंगारका सामानको बिक्री-वितरणका साथै थप आकर्षणका रूपमा दोहोरी प्रतियोगिता, ख्यातिप्राप्त ब्यान्डहरूको सांगीतिक कार्यक्रम र लोकनृत्य प्रतियोगिता छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा सुरु भएको मेलाले उद्योगी, व्यवसायी र उपभोक्तालाई तानेको छ । पोखराका होटल भरिएका छन् । हरेक टिकट बिक्रीबाट पोखरामा दमकल खरिदका लागि २ रुपैयाँ ५० पैसा, बालश्रम न्यूनीकरण कार्यक्रमका लागि र ७५ पैसा महेन्द्रपुलमा रहेको पुरानो काठे साँघुमा झोलुंगे पुल निर्माणका लागि रकम छुट्टयाइएको अर्थ संयोजक निरञ्जन श्रेष्ठले बताए । पत्रकार महासंघ पोखराको भवन निर्माणको सहयोगका लागि हरेक टिकटबाट ७५ पैसा छुट्टाइएको छ । मेलामा ८२ लाख खर्च र ८७ लाख रुपैयाँ आम्दानी हुने आयोजकको अनुमान छ । त्यस्तै पोखरामा निर्माण हुने प्रदर्शनी केन्द्रको पूर्वाधार निर्माणका पनि मेलाबाट हुने आम्दानी खर्चिने आयोजकले जनाएको छ । संघले ०४१ साल देखि महोत्सव गर्दै आए पनि ०६३ सालदेखि भने निरन्तर बर्सेनि राष्ट्रिय औद्योगिक व्यापार मेलाको आयोजना गर्दै आएको हो । मेला २ लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।
पर्यटन आम जनताको व्यवसाय
पर्यटन तथा नागरिक उड्डयनमन्त्री शरदसिंह भण्डारीले पर्यटन उद्योगलाई आम जनताको राष्ट्रिय व्यवसाय बनाउने बताएका छन् ।
राष्ट्रिय औद्योगिक व्यापार मेला उद्घाटन गर्दै मन्त्री भण्डारीले पर्यटन वर्ष २०११ ले ग्रामीण पर्यटनलाई जोड दिने कार्यक्रम ल्याइने बताए । मन्त्री भण्डारीले पर्यटनको जग नै आन्तरिक पर्यटन रहेकामा जोड दिए ।
No comments:
Post a Comment