Dec 8, 2010
कुकुर-विरोलो पनि गरिरहेछन् ट्वीट !
यतिबेला ट्वीटरको जादु मानिसहरुको शिर चढेको छ। तर अब जनावर पनि यसको जादुको शिकार भइरहेका छन् । तपाई सोचिरहनु भएको होला कि जनावर र ट्वीटरबीच केको लिनु दिनु हुन सक्छ ? तर यो सत्य हो कि ट्वीटरमा जनावरहरुको एउटा अलग्गै कम्युनिटी तयार भएको छ। जहाँ जनावरहरु आपसमा ट्वीट्स गर्दछन् ।
यो कुरा तपाईलाई अचम्मको लाग्यो हैन त ? इङ्ग्ल्याण्डको पश्चिमी मिडल्याण्ड पुलिसको विशेष सहयोगी स्मिथ, जो ल्याब्रोडोर नस्लको विशेष कुकुर हो, ट्वीटरमा आफ्नो जातिका सबै कुकुरसँग ट्वीटरको माध्यमबाट सम्पकै गर्दछ।
पूर्णतः तालिम प्राप्त स्मिथ ट्वीटरमा आफ्नो खाने, पिउनेजस्ता जानकारी आफ्ना साथीहरुसँग बाँड्छ । तपाई यो थाहा पाएर आश्चर्यमा पर्नुहुनेछ कि स्मिथका ३१६ फलोअर छन्, जो करिब करिब हरेक दिन उसका साथ आफ्नो अनुभव बाँड्दछ ।
स्मिथजस्तै सौकिङ्टन नामको कालो-सेतो विरालो पनि ट्वीटरमा छ। यो विरालोले त आफ्ना फलोअरको संख्यामा स्मिथलाई पनि पछाडि पारेको छ। सौकिङ्गटनका १०५०००० फलोअर छन्। यो संख्या सामान्यतः मानिसहरुको पनि हुँदैन ।
जनावरहरुको ट्वीटरमा बढ्दो कम्युनिटीलाई के भन्ने ? यो त तपाई हामी राम्रोसँग जान्दछौ कि जनावरले कम्प्युटर चलाउन सक्दैनन् । उनीहरु इन्टरनेट बुझ्दैनन् । त्यसो भए ट्वीटरका बारेमा उनीहरुलाई के थाहा ?
केही जनावर समान्य जनावरको तुलनामा अलग्गै प्रतिभाको मालिक बन्दछन् तर यसको अर्थ यो होइन कि उनीहरु मानिसले झै इन्टरनेट बुझ्दछन् र त्यसमा च्याट गर्न थाल्ने छन् ।
गत डेढ वर्षमा ट्वीटरले पुरै संसारमा जुन प्रकारको धुम मच्चाएको छ, यसबाट मानिस त मानिस जनावर पनि प्रभावित भएका छन् । यहाँ तपाईलाई यति अवश्य बताइदिऊ कि ट्वीटर लगइन भएका अनेक प्रकारका जनावर स्वयम ट्वीट्स गर्दैनन् उनीहरुका मालिक उनीहरुको ट्वीटर प्रयोग गर्दछन् ।
तर जसरी जनावरहरुको दिमागी क्षमताका बारेमा बैज्ञानिक घोषणा गरिरहेका छन्, त्यसबाट यति निश्चित छ कि आगामी दिनहरुमा यदि तपाईको ट्वीटर एकाउन्टमा कुनै कुकुर वा विरालोको फ्रेण्ड रिक्वेस्ट आयो भने त्यो देखेर आश्चर्यमा नपरे हुन्छ। एजेन्सी
विश्वकप आयोजना गर्न नदिएपछि ओबामा रिसाए
वासिङ्टन, मंसिर २१ (एजेन्सी)- अमेरिकी राष्ट्रपति बाराक ओबामाले २०२२ को विश्वकपको आयोजना अधिकार अमेरिकाको बदला कतारलाई दिने फिफाको निर्णय त्रुटिपूर्ण भएको बताएका छन्।
अमेरिकी फुटबल महासंघले आयोजनाको प्रस्तावका लागि लाखौं डलर खर्च गरेको थियो। यसअघि अमेरिकाले १९९४ मा विश्वकप आयोजना गरेको थियो।
ओबामाले भने, 'मेरो विचारमा फिफाको यो निर्णय त्रुटिपूर्ण छ।'
सन् २०१८ को विश्वकप आयोजनाको दाबेदार बेलायतले पनि यस फैसलाको आलोचना गर्दै फिफाले आफ्नो वाचा पूरा नगरेको बताएको छ। अर्कोतर्फ यस घोषणापछि कतारमा उत्सव मनाइँदैछ।
हजारौंको संख्यामा कतारका मानिस र त्यहाँस्थित विभिन्न एसियाली देशका कामदार दोहामा झन्डा र भुभुजेला लिएर सडकमा निस्किएका थिए।
पहिलो पटक मध्यपूर्वको कुनै देशलाई फुटबल विश्वकपको आयोजनाको अवसर दिइएको छ। यसबाट मध्यपूर्वमा फुटबलको विकासमा टेवा पुग्नेछ। रुसलाई सन् २०१८ को विश्वकपको आयोजनाको अधिकार प्राप्त भएको छ।
यस घोषणालगत्तै रुसी प्रधानमन्त्री भ्लादमिर पुटिनले आफू स्विट्जरल्यान्डको सहर जुरिचस्थित फिफाको मुख्यालय गएर सबैलाई धन्यवाद ज्ञापन गर्ने बताएका छन्।
यस आयोजनाका लागि रुसले नेदरल्यान्ड्स-बेल्जियम, स्पेन-पोर्चुगल र इङ्ल्यान्डलाई हराएको थियो।
अमेरिकाको आयोजना अभियानका लागि पूर्वराष्ट्रपति बिल क्लिन्टन पनि सक्रियताका साथ लागिपरेका थिए र उनी अन्तिम प्रस्तुतिमा पनि सामेल थिए। त्यसक्रममा अमेरिकाले लाखौं डलर खर्च गरेको थियो।
तपाईंको इन्टरनेट सुस्त छ?
रामचन्द्र भट्ट/कृष्ण ढुंगाना, काठमाडौं, मंसिर २२ - घर वा कार्यालयमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुहुन्छ? इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले सम्झौता बमोजिम सेवा नदिँदा गति सुस्त भएको हुनसक्छ। आइसपीहरूले एउटा ग्राहकलाई बेचेको इन्टरनेट ब्यान्डविथ १६ जनासम्मलाई बाँडेको पाइएको छ। व्याण्डविथ बीचमै अरुलाई भाग लगाइदिँदा इन्टरनेट सुस्त हुने, सबै 'फिचर्स' नचल्ने तथा कनेक्सनै नहुने समस्या उपभोक्ताले भोगिरहेका छन्।
अहिले इन्टरनेट कम्तिमा ६४ किलोबाइट प्रति सेकेण्डदेखि कामको प्रकृति र प्रयोजन अनुसार २ मेगाबाइटसम्म व्याण्डविथ उपभोक्ताले लिइरहेका छन्। इन्टरनेट साक्षरता कम भएको नेपालमा आइएसपीहरुले एकजना ग्राहकलाई बेचेको यस्तो ब्याण्डविथ उसलाई थाहै नदिइ अर्कोलाई बाँडिदिने गरेका छन्।
सबैभन्दा धेरै इन्टरनेटका ग्राहक भएको नेपाल टेलिकमले एकजनालाई बेचेको ब्याण्डविथ ८ जनालाई बाँड्ने गरेको छ। टेलिकम सूचना प्रविधि निर्देशनालयका प्रमुख लोचनलाल अमात्यले टेलिकमले बिक्री गर्ने इन्टरनेट सेवामध्ये लिज्ड लाइनबाहेक सबै बाँडेरै वितरण गरिने स्वीकारे।
टेलिकमले दिने एडिएसएल, डायलअप, जिपिआरएस, थ्रीजी कुनैमा पनि भनेअनुसार (डेडिकेटेड) ब्याण्डविथ उपभोक्ताले पाउँदैनन्। बैंक, कर्पोरेट हाउसहरूमा भने उसले तोकिएको ब्याण्डविथका लागि लिज्ड लाइनबाट सेवा दिने गरेको छ। 'लिज्ड लाइनमा तोकिएकै ब्याण्डविथ हुन्छ,' अमात्यले भने।
अर्को ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले एकजनालाई बेचेको ब्यान्डविथ ८ जनासम्मलाई बाँड्ने गरेको छ। 'हामीले ८ जनालाई मात्र सेयरिङ गर्छौं,' वर्ल्डलिंकका जनसम्पर्क निर्देशक पवन शाक्यले भने। वर्ल्डलिंकका अनुसार ग्राहकले माग गरे एकजनालाई एउटा ब्यान्डविथ पनि दिने गरिएको छ।
ब्याण्डविथ ग्राहकबीच बाँड्नु भनेको एउटा घरमा जडान गरिएको खानेपानी पाइप अर्को घरले बीचमै काटेर जोड्नुजस्तै हो। 'यसो गर्न पाइन्न,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सम्झौताबमोजिम सेवा नदिनु ठगी हो।'
'नागरिक'ले गरेको अनुसन्धानमा अधिकांश आइएसपीहरूले एकजनालाई बेचेको ब्याण्डविथ १६ जनासम्मलाई बाँडेको पाइयो। यसो गर्नु भनेको १ सय २८ केबिपिएस गतिको इन्टरनेट दिने सम्झौता गरेर १६ जनालाई एकै समयमा बाँड्नु हो। यसरी बाँडिएको इन्टरनेट एकजनाको भागमा बढीमा ८ केबिपिएसमात्र पर्छ। त्यसैले हो, तपाईंको इन्टरनेट कनेक्ट हुनै गाह्रो हुने वा राम्ररी नचल्ने!
आइएसपीहरूको संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइसपान) का अध्यक्ष विनय बोहोरा भने यसरी ब्यान्डविथ बाँड्नु 'अन्तर्राष्ट्रिय चलन' भएको बताउँछन्। 'सेयरिङ इन्टरनेटमा विश्वव्यापी प्रचलन हो,' उनले नागरिकसँग भने, 'सबै ग्राहकले एकैपटक नेट कनेक्ट गर्दैनन् भन्ने मान्यताका आधारमा सेयरिङ हुन्छ।'
अहिले मोबाइल र ल्यापटप प्रयोगले इन्टरनेट जहाँ र जुनसुकै बेला जोड्नसक्ने अवस्था छ अर्थात एकैपटकमा सबैले चलाउने सम्भावना प्रसस्तै हुन्छ। इन्टरनेट प्रयोगको स्वरुप बदलिए पनि आइसपीहरूले समयसापेक्ष नसुधार्दा उपभोक्ता मारमा परेका छन्। मोबाइलसहित अहिले ३० लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्। ग्राहक बढे पनि आइएसपीले ब्यान्डविथ क्षमता बढाएका छैनन्। ब्याण्डविथ बढाउनुभन्दा सेयरिङ गर्दा आइएसपीहरूलाई बढी लाभ हुन्छ।
'हाम्रो बढ्ता ध्यान टेलिफोन सेवातर्फ गैरहेको छ, बिस्तारै इन्टरनेट पनि गुणस्तरीय बनाउन लाग्दैछौं,' प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने। प्राधिकरणले इन्टरनेटको गुणस्तरबारे बेलाबेला आइएसपीलाई निर्देशन दिएपनि उपभोक्ताले इन्टरनेटको राम्रो गति पाउन सकेका छैनन्। पछिल्लो समयमा इन्टरनेट पहुँचमा विस्तारसँगै फेसबुक, टि्वटरजस्ता चल्तीका वेबसाइटले ब्याण्डविथको खपत बढाएको छ।
उपभोक्ता ठगिएपछि सरकारले यो वर्षको बजेटमा आइएसपीले दिने सेवा गुणस्तरीय बनाउन आचारसंहिता बनाउने कार्यक्रम राखेको छ। इन्टरनेट सेवालाई गुणस्तरीय बनाउने, नियमन गर्ने दूरसञ्चार प्राधिकरणले पनि यो विषयमा मापदण्ड बनाएको छैन।
अहिले नेपालका आइएसपीहरूसँग कुल झन्डै तीन जिबी ब्याण्डविथ छ। टेलिकमले सबैभन्दा बढी १.४ जिबी लिएको छ। बाँकी निजी आइएसपी र अरू टेलिफोन कम्पनीसँग छ। पहिले भिस्याट लिंकबाट किन्नुपर्ने ब्याण्डविथ अप्टिकल फाइबरले गर्दा संसारभरि सस्तिएको छ। टेलिकम र वर्ल्डलिंकले अप्टिकल फाइबरमार्फत नै इन्टरनेट ब्यान्डविथ भित्र्याएका हुन्।
'१० वर्षअघि हामीले दुई एमबिपिएसको ब्याडविथलाई मासिक ३२ हजार अमेरिकी डलर तिर्थ्यौं,' टेलिकमका अमात्यले भने। अहिले टेलिकमले त्यही दुई एमबिपिएसका लागि तीन सय डलर तिर्छ। अन्तर्राष्ट्रिय रिसर्च संस्था टेलिजोग्राफीको ताजा अध्ययनअनुसार हङकङमा एक एमबिपिएसको २८ डलर पर्छ, अमेरिकामा ८ डलर।
ब्याण्डविथ के हो?
डाटा ट्रान्सफरको गति हो। यसलाई प्रतिसेकेन्ड बिट्स अनुपातमा नापिन्छ। नेपालका सबै आइसपीले यस्तो ब्यान्डविथ विदेशी कम्पनीसँग लिन्छन्।
इन्टरनेट गति कम भयो भनेर फोन गर्नुभयो भने आइएसपीका कर्मचारी भन्छन्, 'यहाँ सबै ठिक छ, रिकनेक्ट गर्नोस् त!' फोन राखी नसक्दै गति बढिसक्छ। हरपल ग्राहक अनुगमन गर्ने आइएसपीले गुनासो गरिएको ग्राहकलाई तत्काल सम्झौताबमोजिम ब्यान्डविथ छाडिदिन्छ।
ग्राहकले ब्यान्डविथप्लेस डट कम वा स्पिडटेस्ट डट नेटमा गए तत्काल इन्टरनेट गति थाहा पाउन सकिन्छ।
'सेयरिङ गर्न पाइन्छ'
-विनय बोहोरा
अध्यक्ष, आइसपान
गुणस्तरीय सेवा नपाएको गुनासो छ नि?
-धेरै आइएसपीले वायरलेस प्रविधिबाट इन्टरनेट दिनुपर्ने बाध्यता छ। फ्रिक्वेन्सी जुध्ने, बिजुलीको पोलमा तार झुण्ड्याएर ग्राहकको घरसम्म पुर्याउनुपर्ने, लोडसेडिङजस्ता कारणले गुणस्तरीय नभएको हो।
आइएसपीले किन सेयरिङ गरेरमात्र इन्टरनेट दिन्छन्?
सेयरिङ विश्वमै चलेको छ। आइएसपी भनेकै बढी ग्राहकबाट चल्ने भएकाले सेयरिङ गर्न हुन्न भन्ने होइन। तर, कतिजनालाई सेयरिङ गर्ने भन्ने मापदण्ड हुन्छ। ग्राहकले इन्टरनेट सेवा लिँदै कति जनालाई सेयरिङ हुन्छ भनेर बुझ्नुपर्छ। कम सेयरिङ गर्नेसँग इन्टरनेट लिँदा समस्या पर्दैन।
ग्राहकले चाहेकै ब्याण्डविथ दिन सकिँदैन?
सकिन्छ तर प्रविधि, पूर्वाधारमा सरकारले सहयोग गर्नुपर्छ। भारतीय सिमा सहरसम्म सरकारले इन्टरकनेक्सन प्वाइन्ट बनाइदिने हो भने सस्तोमा व्याडविथ किन्न सक्छौं। हामीले सस्तोमा किनेपछि ग्राहकले चाहेको व्याडविथ सस्तोमै दिन सक्छौं।
अन्तर्राष्ट्रिय बजारमा ब्याण्डविथको भाउ निकै घटेको छ नि?
हङकङमै थोकमा लिँदा एक एमबिपिएसको २८ डलर पर्छ, नेपालसम्म ल्याउन विदेशी कम्पनीको सहयोग लिनुपर्छ। एक एमबिपिएस काठमाडौंमा ल्याइपुर्याउन २५ देखि ३५ हजार रुपैयाँसम्म पर्छ।
src: nagariknews
डायरीको पाना
प्रकरण १
च्यातिएको डायरीको पाना कसैले भेट्यो लेखिएको थियो -
" कहिलै नहिडेको यो बाटो, यो ठाउँ वा परदेश नियतिको चौरस्तामा पठाएर तिमीले छोडी गएपछि फेरी किन मलाइ खोज्दै खोज्दै लखेट्दै लखेट्दै पछ्छ्याई रहन्छन रातभरी निसास्सिएर बिहान फुत्किएको हुस्सु जस्तो तिम्रो झुठो प्रेम र प्रेमालापका निष्ठुरी स्मृतिहरू ? किन किन ? कहिलै नफर्कने गरि तिम्रो साथ् कतै छुटे पनि हरेक बिहान किन मेरो परेलीको डिलैनेर जिस्काउन आउँछ तिम्रो नक्कले आँखा झिमिक झिमिक ....?"
यो उनैको हस्ताक्षर हुनुपर्छ , एउटाले तुरुन्तै अनुमान लगायो ।
उनी हराइन कुनै अस्पष्ट सम्झना जस्तै, फ़ेरिईन् कुनै अस्थीर मौसम जस्तै । त्यो एकलास सुनसान जंगलको बिरानो ढुंगा जहाँ कोही देउता सम्झेर पुज्न किन जान्थ्यो अचेल ? उनको स्मृतिमा वाल्यकालका धेरै समयहरु सल्बलाउन थाल्छन। जतिबेला हरेक थोत्रा टालाटुली पुतली हुन्थे र प्रत्येक ढुंगाहरु देउता । केटाकेटी न थियौं - उनि फिस्स हास्छिन । त्यही ढुंगा जस्तै उनी एक्ली भईन ।
एक्लै हुनु कतै मेटिनु, बिलाउनु वा पुरिनु जस्तै हुदो रहेछ, उनी मेटिईन कुनै प्रेमिकाले बालुवामा कोरेको कविताजस्तो वा रुखको बोक्रामा खोपिएको प्रेमको संकेत जस्तो । समय न रहेछ - कति छिटो बिर्सिईएं म केटाकेटीको सपना जस्तो ।
कसैसंग गुनासो पनि छैन, तर एउटा प्रश्न भने सधै तेर्सिई रहन्छ उनको मनमा - सबै ठिक हुदा हुदै किन म अरुभन्दा फरक ? किन असामान्य ? न उनको प्रश्न कसैले बुझ्छ, न प्रश्नको कारण नै । आफैमाथि सोध्छिन, प्रश्न माथि प्रश्नका खातहरु उनी ।उसको त के कुरा? रंगीचंगी धागो बटुलेर कतै नौलो ठाउँमा जालिमाया बुनिरहेको होला, वसन्त फुल्ने याममा भुलेर प्रेमको गीत गाइरहेको होला। साच्चै छोडेर जानेको सम्झना कति धेरै हुदो रहेछ? हठात यो दर्शन माथि विश्वास बढ्छ ।
विदेश आएको पनि २ बर्ष भैसकेछ ।
त्यो अभागी दिन किन लेखियो जसले बाध्यताको पखेटा हालेर उनलाई विदेश पठायो र एक्लो बनायो । "हुन त मान्छे सधै एक्लै न त छ, साथहरु त केवल भ्रम मात्र हुन्" आफुलाइ सम्झाउनुको बिकल्प थिएन । कहिले काही बाटोमा हिड्दा हिड्दै बोलाउथ्यो उ - उनको प्रेम । कहिले ढोका ढकढक गर्थ्यो , सबेरै दैलो खोल्दा टुप्लुक्कै झुल्कन्थ्यो । कहिले त आफ्नै विछ्यौनामा हुन्थ्यो पल्टिरहेको - कुनै अबोध बालक जस्तै । प्रेमका दुश्मनहरुले बन्द गरेको पर्खाल नाघेर नेपाल देखि कसरी आइपुग्यो उ यति सजिलै ?
तर ती सब सपनाहरु हुन्थे, अवचेतन दिमागमा छापिएको उसको तस्वीर निन्द्राको घरभित्र खेलिरहेको .. मात्र तस्वीर । उसले त चटक्क छोडेर गैसकेको थियो, बिरानो गाउँमा अँध्यारो गल्लीको बेबारिस ढुंगा जस्तै ।
प्रकरण २
प्रवासी समाजको कार्यक्रम
वूडमान्डू क्लब, तेल अभिभ
वक्ताहरुले बोल्ने क्रम सकिएपछि " महिला स्वर इजरायल"कि प्रतिनिधि र रेस्पेक्ट टु वर्कर्स संस्थाकी स्वयम सेविकाले अलिकति समय मागेर सुनाइन - महिला हराएको सुचना ।
करिब दुइ बर्ष अघिदेखि यहाँ काम गर्दै आउनु भएकी एउटी महिला मानसिक सन्तुलन विक्षिप्त भएको अवस्थामा हराउनु भएको छ । एउटा नेपालीको नाताले उनलाई उपचार गर्नु , सहयोग गर्नु र समयमै नेपाल फर्काउनु हाम्रो कर्तव्य हो । त्यसैले यहाँहरुमध्य जो कसैले देख्नु भएमा तुरुन्त नजिकको प्रहरी कार्यालय, नेपाली दुतावास वा निम्न सामाजिक संस्थाहरुमा निम्न अनुसारका नम्बरहरुमा खबर गरि दिनु हुन बिनम्र अनुरोध गर्दछु ।
हुलिया -- गहुँ गोरी, अग्ली, यस्ती, अन्दाजी यति बर्षकी ।
सम्पर्क -- यति यति यति ।
तर उहाँ अलि रिसाहा हुनुहुन्छ, नचिनेको मान्छे अगाडी जाँदा पिट्न पनि सक्नु हुन्छ नि, ख्याल गर्नु होला है ।
एउटा अनिच्छित हाँसोले त्यो पुरै हल धेरैबेर गुन्जिई रह्यो ।
डायरीका ती हरफहरु लेख्ने मान्छे, सबैको आँखा छलेर सुटुक्क बाहिर निस्किएको कसैले पत्तै पाएन ।
कृष्णपक्ष
हाल इजरायल
मनीषाले भनिन्- व्यक्तिगत प्रश्न नसोध्नू
स्मृति ढुंगाना, काठमाडौं, मंसिर २२- आफ्नो पछिल्लो नेपाली फिल्म 'धर्मा'को प्रवर्द्धनमा जुटेकी अभिनेत्री मनीषा कोइराला मंगलबार राजधानीमा आयोजित कार्यक्रममा उनी निकै खुलिन्।
'मेरो व्यक्तिगत विषयमा जिज्ञासा नराख्नु होला,' सम्भावित प्रश्नलाई निषेध गर्दै उनले भनिन्, 'सुटिङमा आफ्नै नेपाली भाषा बोल्न पाएँ। यो नै रमाइलो अनुभव थियो।' अन्य कुरामा भने बलिउड र नेपाली फिल्मको सुटिङ खासै अन्तर नदेखेको बताइन् उनले।
पोखरामा सुटिङ गरिएको फिल्म 'धर्मा'को प्रवर्द्धनमा युनिट सोमबार त्यसतर्फ जाने कार्यक्रम रहेको छ। दर्शकको प्रतिक्रिया बुझ्न मनीषा विभिन्न हलमा पुग्ने निर्माण पक्षले जनाएको छ। 'दर्शकको मूल्यांकन बुझ्न हलमा जान लागेकी हुँ,' प्रतिक्रिया बुझ्ने सिलसिलामा गृहनगर विराटनगर पनि पुग्ने योजना बनाएकी छिन् मनीषाले।
मनीषाले काम नगरेको भए फिल्म नै नबनाउने सुनाइन् निर्मात्री दुर्गा पोखरेलले।
फिल्मलाई विदेशमा समेत देखाउने योजनामा जुटेकी पोखरेलले भनिन्, 'सबटाइटलको काम हुँदैछ। वैशाखको पहिलो साता विदेशमा रिलिज गर्ने योजना छ।'
नयाँ फिल्म 'खग्रास' सुटिङ गरिरहेकी पोखरेलले फिल्म प्रिमियरका लागि ठूलो हल नभएकोमा गुनासो गरिन्। प्रिमियरमा राजनीतिज्ञ, साहित्यकार, व्यापारीका साथै नेपाल र बलिउडका फिल्मकर्मीलाई समेत निम्ता गरेको उनले जानकारी दिइन्। 'हामीले एक हजार जनालार्ई बोलाएका छौँ। हलको क्षमता केवल ८ सयको छ,' उनले मओवादी नेता बाबुराम भट्टराई, कांग्रेस सभापति सुशील कोइराला र सुजाता कोइराला प्रिमियरमा आउने बताइन्।
पत्रकार भेटघाटमा फिल्मका नवकलाकार संयोग पोखरेलले फिल्ममा नेपाली बोल्न समस्या परेको बताए। 'तर, फिल्ममा त्यो कमजोरी लुकाउने प्रयास गरेको छु,' उनले भने। निर्माता पोखरेको छोरा संयोगले अभिनयमा निरन्तरता दिने पनि उल्लेख गरे।
मनीषाको साथप्रति आभार प्रकट गरे निर्देशक दीपेन्द्र के खनालले। 'मनीषा दिदीले हामी जस्तो युवा पुस्तालाई साथ दिनुभयो। कथा राम्रो भए पनि केही डर लागिरहेको छ,' खनालले भने।
'धर्मा' मार्फत २२ वर्षपछि नेपाली फिल्ममा मनीषाको पुनरागमन भएको हो उनीसँगै 'फेरि भेटौँला'मा काम गरेका अभिनेता प्रकाश अधिकारीले सम्झिए, 'एकदिन मनीषाले नेपाली फिल्मलाई फेरि भेटौँला भनेकी थिइन्। बल्ल भेटिन्। उनको आगमन ढिलो भए पनि राम्रो भयो।' बलिउडसँग निकै परिचित मनीषालाई उनले निर्देशनमा लाग्न सुझाव दिए।
फिल्ममा मनीषाका साथ राजेश हमाल र निखिल उप्रेतीले अभिनय गरेका छन्। यो फिल्म शुक्रबार देशभरका करिब ६१ हलमा रिलिज हुने बताइएको छ।
src: nagarinnews
फेसबुक र इमेल दुरुपयोगबाट पीडित नायिकाहरुको गुनासो
काठमाडौ। नेपालमा पछिल्लो समयमा इन्टरनेट सञ्जालबाट महिला हिंसाजन्य क्रियाकलाप बढेकाले विभिन्न पेसाकर्मीलाई प्रत्यक्ष असर पुर्याएको छ ।नेपालकी चर्चित नायिका गरिमा पन्तको फेसबुक ह्याक गरेर टाउकोमा अरुको अश्लील तस्वीर समावेश गरेकाले धेरै दिनसम्म ठूलो पीडा सहनु पर्यो ।
‘मेरो टाउकोमा अरुको अनावश्यक तस्वीर समावेश गरेर त्यसले व्यक्तित्वमा ठूलो असर पार्यो, नायिका पन्तले भन्नुभयो- ‘मैले बन्द गर्नका लागि धेरै ठाउँमा पहल गरेँ, तर त्यसको कसैले वास्ता नै गरेनन् ।’
‘इन्टरनेटमा पनि महिलालाई नै बढी लक्षित गरेर यस्ता तस्वीरहरु समावेश गरेर चरित्र हत्या गरिन्छ, निकै भावुक हुँदै उहाँले भन्नुभयो- ‘हरेक ठाउँमा महिलालाई मात्र पीडित बनाइन्छ, यस्ता अपराधमा संलग्न व्यक्तिहरुलाई कडा कारबाही नगरेसम्म महिला हिंसा रोकिँदैन ।’
नायिका गरिमा पन्तलाई मात्र होइन, अर्की चर्चित नायिका करिश्मा मानन्धरको नाममा पनि कसैले फेसबुक चलाएको छ भन्ने कुरा स्वयम् उहाँलाई अहिलेसम्म जानकारी छैन ।
‘मेरो नाममा फेसबुक खोलेर चलाउने व्यक्तिले राम्रो नै गरेको होला, तर पछि उसले केही बदमासी गर्ला, यसले मेरो व्यक्तित्वमा ठूलो असर पार्ला कि भन्ने चिन्ता छ, नायिक मानन्धरले भन्नुभयो- ‘मेरो नामको फेसबुक कसरी बन्द गर्ने भन्ने विषयमा सदा चिन्तित छु ।’
‘अरुको नामबाट फेसबुक खोल्ने, अरुको पासवर्ड चोर्नेजस्ता क्रियाकलापहरु पछिल्लो समयमा निकै वृद्धि भइरहेको छ, नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाल भन्नुहुन्छ-’साइबर अपराधसम्बन्धी आफू सचेत रहनुपर्छ, तीन-तीन महिनामा आफ्नो फेसबुक, इमेलको पासवर्ड परिर्वतन गरिरहनुपर्छ जसले गर्दा अरुले पासवर्ड चोर्न पाउँदैनन् ।’
‘इन्टरनेट प्रयोगकर्ताहरुले आफैँ सचेत भएर काम गर्नुपर्छ, प्रमाणीकरण नियन्त्रणको कार्यालयका नियन्त्रक राजनराज पन्त विद्युतीय कारोबार ऐन २०६३ ले व्यक्तिगत अपहेलना, चरित्रहत्याको बारेमा स्पष्ट नपारेकाले कानुन समय सान्दर्भिक नभएको बताउनुहुन्छ ।
महिलाको विद्युतीय माध्यमबाट भौतिक, शारीरिक, मानसिक यौनिक हिंसा हुने गरेको तर त्यसका लागि विद्युतीय कारोवार ऐनले नसमेटेको अधिवक्ता सविन श्रेष्ठको भनाइ छ ।
‘इन्टरनेट प्रयोगकर्ताहरुले आफ्नो चरित्रहत्या भएको विषयमा नेपाल प्रहरीमा कमैमात्र उजुरी पर्ने बताउनुहुन्छ,’ नेपाल प्रहरीका प्रवक्ता विज्ञानराज शर्मा ।
‘साइबरजन्य अपराधका घटनाहरुमा प्रहरीमा गएर उजुरी गरेमा त्यसको बारेमा नेपाल दूरसञ्चार प्राधिकरणको सहयोगमा तुरुन्त त्यस्ता साइडहरु बन्द गर्न सकिन्छ’- प्रवक्ता शर्माले भन्नुभयो ।
प्रमाणीकरण नियन्त्रणको कार्यालयको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा फेसबुक प्रयोगकर्ताहरु लगभग सात लाख रहेका छन् । तीमध्ये सबैभन्दा बढी १८-२४ वर्ष उमेर समूहका करिब ४७ प्रतिशत रहेको छ । त्यसमा महिला ३१ प्रतिशत र पुरुष ६९ प्रतिशत रहेको बताइन्छ ।
साइबर अपराधसम्बन्धी विद्युतीय कारोबार ऐन २०६३ ले कुनै पनि व्यक्तिका विद्युतीय सञ्चार माध्यममार्फत अवज्ञा गरेमा, चरित्रहत्या गरेमा, समुदाय-समुदायबीच द्वन्द्व सिर्जना गर्ने खालका समाचारहरु प्रकाशन वा प्रसारण गरेमा पाँच वर्ष जेल वा रु दुई लाख जरिवाना वा दुवै सजाय हुनसक्ने भनी उल्लेख गरिएको छ ।
src: nepalrus.com
रेगिस्तानको मृगतृष्णा
कथा
सम्भवत: मध्यपूर्वतिरको कुनै सामुद्रिक तटमा थियो त्यो बस्ती ।
धर्तीमा साँझ ओर्लिएपछि एउटा मिठो मेहेफिल जम्थ्यो त्यहाँ । संगीतकारले रसिलो धून भरेझैं मन्त्रमुग्ध आवाजमा एउटा युवक कथा सुनाउथ्यो, कविता गीत या गज़ल गाउथ्यो । उसका प्रत्येक कथाहरुमा प्रायश: यही वस्तीका तस्वीरहरु कुँदिएका हुन्थे । उसको आवाज सुन्न र त्यसमा डुब्न र हराउन एकैछिन थुप्रै प्यासी मनहरु भेला हुन्थे । कुनै अधुरो लक्ष्य लिएर भौतारिदै हिडिरहेजस्तो एउटा यात्री थियो, उसलाई पनि यो स्थानका बारेमा स्पष्ट परिचय भने थिएन।
नजिकै समुद्रका चंचल छालहरूले किनार चुमिरहेको देख्न सकिन्थ्यो भने अर्कोतर्फ पर क्षितिजसम्म फैलिएको एउटा रेगिस्तान । बालुवाको अपार बिस्कुन फिजाएर बसेको धर्ति जोरजोरले तातिदै गए पछि आकाश छुने क्षितिजतिर मृगतृष्णा शुरु हुन्थ्यो । पहाडै पहाडका दृष्टिभ्रमहरु देखिन्थे -सेतो हिमाल, हरियो जंगल, झरना, खोला, नांगी र फराकिला चउरहरु ... उसको देश । यस्तो साँझ उ नोस्टाल्जिक भावनाले भिजेका सपनाका कथाहरु भरेर गीत गाउँथ्यो, भोलिपल्ट उसको आवाज अक्षरहरुमा अनुवाद भएर ब्लग या फेसबुकका भित्ताहरुमा टाँसिन्थे, कसैले पढ्थ्यो लाइक गर्थ्यो वा कमेन्ट लेख्थ्यो, अनि उसको मन बुझाउने आधार र खुसीको सिमाना अझ फराकिलो हुदै जान्थ्यो ।
ऊ को थियो ? मानिलिउं उसको नाम स्वप्निल हो - स्वप्निल नेपाल ।
ऊ कहिले विद्रोह, क्रान्ति, संघर्ष र बहादुरीको कथा सुनाउथ्यो त कहिले शव्द शव्दमा कला, सौन्दर्य, चेतना र बौद्धिकता खिपिएका कविता । कैयौं पटक उसले यो वस्तीलाई विरहको आँसुमा डुबाएको छ र कतिपटक मदिरालेझैं मादकतामा रंगाएको पनि ।
वस्तीको सुदूर इलाकातिर पुराना पुस्तकहरु भरिएको पुस्तकालय झैं लाग्ने कुनै घर भेटियो भने त्यहाँ थोरै अंग्रेजी र धेरै उर्द्धु , अरबी, पर्सियन वा हिब्रु साहित्यका पुस्तकहरु भेटिन्थे । युरोप अमेरिका देखि भागेका यहुदीका निरीह अनुहार वा अग्निकाण्ड (होलोकाष्ट) का दर्दनाक तस्वीरहरु पाउन सकिन्थ्यो त्यहाँ ।तस्वीरहरूमा शासक वा योद्धाका घोडाहरु हुन्थे, बुर्काले मुख छोपेका आइमाई वा उँट र हरितपना चटक्क बिर्सेर फ़ुस्रिएको रेगिस्तानको चित्र । विश्वयुद्धका कथाका पात्र बनेका बुढाहरु त आजसम्म घर घरमा भेटिन्थे । ताजा भन्नु टेबलका अखबारहरु हुन्थे, जो अझै आफै च्यातिने गरि मध्यपूर्वीय शान्ति प्रक्रिया र युरेनियमका शिर्षकहरु दोहोर्याई रहेका हुन्थ्यो ।
मन कहाँनेर दुख्छ, बुझ्नु छ यो साँझ प्रिय
आफ्नै आँसु बगाएर रुझ्नु छ यो साँझ प्रिय
फेरि उसको गज़ल गुन्जियो । अँध्यारोसंग खेल्दै पर कुनामा पिलपिल चम्किरहेको मैनबत्तीनिर उभिएकी एउटी युवती उसका प्रत्येक शव्द बुझेझैं भावुक बनिरहेकी थिई । अनुमान सही गर्नु भयो - उ स्वप्निलकी प्रेमिका - पेजिया। स्वप्निल "परी" भनेर पनि बोलाउछ ।
समुद्रले बोकेर ल्याएको शितल हावाले शहरको ताप मात्र होइन । दिनभरको दैाडधुप वा व्यस्तताका सबै गर्मिपना साेहाेरेर लैजान्थ्यो । लहरले छुदै भाग्ने सागरको किनारमा बसेर परीलाइ कुनै मिठो प्रेमकथा सुनाउदा सुनाउदै कति रातहरू उसले थाहै नपाइ काटेको थियो ।
हजाराै बर्ष पहिलेदेखि यो वस्तीमा संसारका कुना कुना देखि व्यापारी, अनुसन्धानकर्ता तथा विज्ञहरू अाउथे, रात बिताउथे सभ्यताको कथा सुनाउथे । व्यापारिक वस्तुहरू सुन, हिरा, मोती हुोउन वा राजा रानी र युध्दका बयानहरू । अधिकांश मानव सभ्यताहरूको उत्पति र विकास सामुद्रिक किनारबाटै भएको उदाहरणले के पनि लाग्थ्यो भने हुनसक्छ शायद त्यसैले पनि यो वस्ती यति सुन्दर छ, यति विकसित छ, यस्तो धिपधिप बलेको छ।
अन्त्यहीन तिर्खा बोकेर युगौंयुग भौतारी रहने यात्रीहरुको लश्करमा शामिल हुन वालुवाको शहर रेगिस्तान भूमिमा उ कसरी आइपुग्यो ? उत्तर रेडिमेड थियो- देशमा बेरोजगारी छ, संकट छ । दशकौं देखि हाम्रो पुस्ता आउदै/जादै छ- रोजगार, व्यापार, बहादुरी, अध्ययन वा बिभिन्न बहानामा । त्यही क्रमको निरन्तरता मात्र हो उसको आगमन । आउने जानेको यो आकार उसको वस्तीमा ठूलो भए पनि उसलाई थाहा थियो संसारभरि फैलिएको छ यो यात्रा ।
" ....अन्नपुर्ण बेस क्याम्प, ती उकाली ओरालीका पदयात्राहरू र त्रिशुलीको राफ्तिंग ।" केही बिर्सनै नसकिने घटनाहरु छन पेजियासंग बितेका, राफ्तिंग गर्दागर्दै पेजिया एकपटक झन्डै त्रिशुलीमा समाहित भएकी थिई ।कस्तरी बचाएको थियो उसले त्रिशुलीको भेललाई काटेर । त्यसपछि कतिखेर पेजिया उसकी "परी" भइ, उसलाई हेक्का छैन ।
समुन्द्रको किनारमा छ उसको कफीशप, जहाँ हरेक साँझ विशेष साँझ हुन्छ। खाने पिउने र गज़ल सुनाउने । आफ्ना दौतरी यात्रीहरुसंग बसिबियालो गर्न उ आफैले खोलेको। यसलाई कफिघर भन्दा पनि ज्यादा सङ्गीत या साहित्यघरको नाम दिए हुन्छ ।
वस्तीको रमझम उत्रिए पनि यो कफिघरमा प्रेमको सङ्गीत गुन्जिई नै रहन्छ भोलीको सुर्योदय सम्म। पहरा गरेझैं रातभर बेफुर्सद डुल्ने हावाका झोंक्काहरु कोठाको भित्र र बाहिर झुन्ड्याइएका वाइंड बेलमा धून भरिरहेका हुन्छन । पर समुन्द्रको आँगनमा हरदम सल्बलाइरहने पानीको चंचलता त्यस्तै मिठो सुनिन्छ ।
त्यो रात उसले अनौठो सपना देख्यो, अकस्मात् रेगिस्तानको त्यो यात्रा फनक्कै फर्किएको थियो । देश यति बेला समृद्ध भैसकेको थियो । अरब, दुबई, कतार, इजरायल, मलेशिया हंगकंग हुदै युरोप अमेरिका वा अस्ट्रेलिया चारैतिरबाट सबै सबै क्रमश: देश भित्रिए । मरुभूमीमा दृष्टिभ्रम भएझैं सबैले आफ्ना आँखा अगाडी सग्ला हिमाल, पहाड र तराइ सदृश पाए ..।
"तिमी रातभर गीत गाउछौ, विहान अबेरसम्म सुत्छौ, उठ स्वप्निल" -
परी कानैमा आएर कराई । "एउटा खुसीको कुरा छ । "
"यति खुसि कि म भन्न पनि सकिरहेको छैन, बर्षौं देखिको हाम्रो सपना साकार भएको छ हेर, अब तिमीले स्थायी परिचय पत्र पायौ । अब तिमी यहाँको नागरिक भयौ - म जस्तै । "
स्वप्निल न त खुशी नै भयो न त दुखी, यतिको तटस्थ अनुभूति जीवनमा पहिलोपटक भैरहेको थियो ।बाहिर बालुवाको साम्राज्य उस्तै फैलिएको थियो, पर क्षितिज सम्म।
समय रोकिदैन । त्यो वस्ती, त्यो कफीघर, त्यो साँझ, त्यो रमझमको सिलसिला दोहोरिईरहन्छ । अहिले पनि युगौदेखिको त्यो अनवरत यात्रामा शामिल हुन उसका दौतरीहरु आउछन, र उ सबै भन्दा पहिले त्यही कथा सुनाउछ - रेगिस्तानको मृगतृष्णा ।
कृष्णपक्ष
मध्यपूर्व, इजरायल
Subscribe to:
Posts (Atom)