Nov 21, 2010

अध्यादेशमार्फत झण्डै साढे तीन खर्बको बजेट प्रस्तुत

बजेट भाषणमा अर्थमन्त्री सुरेन्द्र पाण्डे
चार महिना ढिला भएपनि बजेट अध्यादेशको रुपमा प्रस्तुत गरिएको छ राष्ट्रपतिद्वारा जारी गरिएका चारवटा भिन्ना भिन्नै अध्यादेशहरुमार्फत ल्याइएको बजेटको मुख्य विशेषताहरु अर्थमन्त्री सुरेन्द्र पाण्डेले शनिबार सार्वजनिक गरेका छन्। पेश गर्ने प्रक्रियाबारे सरकार र प्रतिपक्षी माओवादीबीच कुरा नमिलेपछि शुक्रबार राती संसदभित्र बजेट भाषण गर्न पुगेका अर्थमन्त्रीमाथि माओवादी सभासदहरुले हातपात गरेका थिए। लगत्तै आधा रातमा सरकारले संसदको अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत बजेट ल्याउने निर्णय गरेको थियो। सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको सभाहलमा अर्थमन्त्री सुरेन्द्र पाण्डेले भाषण गरिरहँदा बजेट साविकभन्दा १२८ दिन ढिला भइसकेको थियो। तर त्यहाँको माहौल उक्त ढिलाईले अर्थतन्त्रलाई पारेको असरलेभन्दा बजेट ल्याउन खोज्दा संसदमा भएको बबालले गह्रुंगो बनेको सहजै अनुभव गर्न सकिन्थ्यो।
बजेट तथ्यांक
  • कूल बजेट रकम रु ३३७.९० अर्ब
  • पूँजीगत ( विकास ) खर्च रु १२९.५३ अर्ब
  • चालु ( नियमित ) खर्च रु १९०.३१ अर्ब
  • राजस्व अनुमान रु २१६.६४ अर्ब
  • विदेशी अनुदान रु ६५ अर्ब
  • बजेट घाटा रु ५५ अर्ब
  • विदेशी ऋण रु २२ अर्ब
  • आन्तरीक ऋण रु ३३ अर्ब
  • आर्थिक वृद्धि अनुमान - ४.५ प्रतिशत
  • कृषि अनुदान - रु २.७५ अर्ब
  • शिक्षामा सबैभन्दा बढि विनियोजन - रु ५७.६५ अर्ब
  • निकासीकर्ताहरुलाई प्रोत्साहन गर्न कर छुट तथा नगद पुरस्कार
  • मासु आयात प्रतिस्थापनलाई पशुपालनमा जोड