अन्तर्राष्ट्रिय बजारअनुसार दैनिक स्थानीय मूल्य निर्धारण हुनेमा सुन एक मात्र वस्तु हो । तर बिहीबार अन्तर्राष्ट्रिय बजारमा मूल्य घटे पनि स्थानीय बजारमा अभाव बढेकाले बढी मूल्य निर्धारण गर्नुपरेको सुनचाँदी व्यवसायी संघले जनाएको छ । 'बिहीबार स्थानीय सुनको मूल्य ३९ हजार ७ सय -दस ग्राममा ३४ हजार ३५) रुपैयाँ कायम भयो,' संघका अध्यक्ष तेजरत्न शाक्यले भने, 'यो मूल्य हालसम्मकै उच्च हो ।' उनका अनुसार कात्तिक २३ गते स्थानीय बजारमा रेकर्ड कायम गर्दै प्रतितोला सुन ३९ हजार ६ सय रुपैयाँमा बिक्री भएको थियो ।
बुधबार पनि कात्तिक २३को मूल्यमै कारोबार भएको हो। शनिबार सार्वजनिक बजेटमा सुनको भन्सार उच्चदरले बढाइए पनि आयात खुला हुन नसक्दा स्थानीय बजारमा अभाव बढेको हो । मंसिर महिनामा बिहेवारी बढी हुने भएकाले पनि माग बढ्न गई अभाव भएको हो । बजेटले सुनको भन्सार बढाएपछि झन्डै दुई महिनायता बजारको अभाव धान्न सुन बेचिरहेको राष्ट्र बैंकले गत साताबाट यो धातु बेच्न छाडेको छ । अर्कोतिर सुनको भन्सार भारतमा भन्दा धेरै कम भएपछि आयातमा प्रतिबन्ध लगाएको वाणिज्य मन्त्रालयले पनि आयात खुला गरेको छैन । शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा बुधबारको तुलनामा बिहीबार सुनको मूल्य घटेको छ । बुधबारको भन्दा आउन्समा ४ अमेरिकी डलर गिरावट आई अन्तर्राष्ट्रिय बजारमा यसको मूल्य १ हजार ३ सय ७१ अमेरिकी डलर कायम भएको थियो । 'विवाहको सिजनसँगै सुनचाँदी व्यापारको समय पनि सुरु भएको छ,' शाक्य भन्छन्, 'तर स्थानीय बजारमा सुन आउने कुनै बाटो छैन । राष्ट्र बैंकले बेच्न छाडेको छ भने आयात पनि खुला भएको छैन ।' बजारमा सुन अभाव भएकाले जथाभावी मूल्यमा कारोबार नहोस् भनेर संघले मूल्य बढाएको उनले बताए । उनका अनुसार विवाहको सिजन भएकाले दैनिक ३५ किलो हाराहारीमा सुनको माग छ । बजेटले सुन आयातको भन्सार प्रतिदस ग्राममा १ हजार रुपैयाँ पुर्याएको छ । झन्डै ६ महिनाअघिसम्म दस ग्राममा १ सय ३० रहेकामा त्यसपछि अध्यादेशमामार्फत दस ग्रामको ४ सय ७० रुपैयाँ पुर्याएको छ । भारतमा अहिले सुन भन्सार दस ग्रामको ४ सय ८० रुपैयाँ छ । बजेटमा चाँदीको भन्सार प्रतिकिलोको १ हजार ६ सयबाट बढाएर २ हजार ४ सय रुपैयाँ पुर्याइएको छ । राष्ट्र बैंकले २ अर्बको सुनचाँदी बेच्यो सरकारले सुनचाँदी आयातमा प्रतिबन्ध लगाएपछि राष्ट्र बैंकले सातपटकमा २ अर्ब रुपैयाँ बराबरको सुनचाँदी बिक्री गरेको छ । यता सरकारले बजेटमार्फत सुनचाँदी आयातको भन्सार बढाएपछि उसले मंगलबारदेखि सुनचाँदी बिक्री बन्द गरेको छ । 'आयात रोकेपछि बजारमा सुनचाँदी अभाव नहोस् भनेर बिक्री सुरु गरेपछि अहिलेसम्म २ अर्ब रुपैयाँको सुनचाँदी बेचेका छौं,' केन्द्रीय बैंकका प्रवक्ता गोपालप्रसाद काफ्लेले भने । बैंकले सातपटकमा ७ सय ७३ केजी सुन र ९ हजार ५० केजी चाँदी बिक्री गरेको छ । बिक्री सुरु गरेको पहिलोपटक बैंकले कम सुनचाँदी बिक्री गरेको थियो । तिहारअगाडि बजारमा माग बढी हुने भन्दै एक सातामा १ सय ७५ किलो सुन र २ हजार किलो चाँदी बिक्री गरेको काफ्लेले बताए ।
No comments:
Post a Comment