Dec 8, 2010
तपाईंको इन्टरनेट सुस्त छ?
रामचन्द्र भट्ट/कृष्ण ढुंगाना, काठमाडौं, मंसिर २२ - घर वा कार्यालयमा इन्टरनेट राम्रोसँग नचलेर दिक्क हुनुहुन्छ? इन्टरनेट सर्भिस प्रोभाइडर (आइएसपी) ले सम्झौता बमोजिम सेवा नदिँदा गति सुस्त भएको हुनसक्छ। आइसपीहरूले एउटा ग्राहकलाई बेचेको इन्टरनेट ब्यान्डविथ १६ जनासम्मलाई बाँडेको पाइएको छ। व्याण्डविथ बीचमै अरुलाई भाग लगाइदिँदा इन्टरनेट सुस्त हुने, सबै 'फिचर्स' नचल्ने तथा कनेक्सनै नहुने समस्या उपभोक्ताले भोगिरहेका छन्।
अहिले इन्टरनेट कम्तिमा ६४ किलोबाइट प्रति सेकेण्डदेखि कामको प्रकृति र प्रयोजन अनुसार २ मेगाबाइटसम्म व्याण्डविथ उपभोक्ताले लिइरहेका छन्। इन्टरनेट साक्षरता कम भएको नेपालमा आइएसपीहरुले एकजना ग्राहकलाई बेचेको यस्तो ब्याण्डविथ उसलाई थाहै नदिइ अर्कोलाई बाँडिदिने गरेका छन्।
सबैभन्दा धेरै इन्टरनेटका ग्राहक भएको नेपाल टेलिकमले एकजनालाई बेचेको ब्याण्डविथ ८ जनालाई बाँड्ने गरेको छ। टेलिकम सूचना प्रविधि निर्देशनालयका प्रमुख लोचनलाल अमात्यले टेलिकमले बिक्री गर्ने इन्टरनेट सेवामध्ये लिज्ड लाइनबाहेक सबै बाँडेरै वितरण गरिने स्वीकारे।
टेलिकमले दिने एडिएसएल, डायलअप, जिपिआरएस, थ्रीजी कुनैमा पनि भनेअनुसार (डेडिकेटेड) ब्याण्डविथ उपभोक्ताले पाउँदैनन्। बैंक, कर्पोरेट हाउसहरूमा भने उसले तोकिएको ब्याण्डविथका लागि लिज्ड लाइनबाट सेवा दिने गरेको छ। 'लिज्ड लाइनमा तोकिएकै ब्याण्डविथ हुन्छ,' अमात्यले भने।
अर्को ठूलो इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले एकजनालाई बेचेको ब्यान्डविथ ८ जनासम्मलाई बाँड्ने गरेको छ। 'हामीले ८ जनालाई मात्र सेयरिङ गर्छौं,' वर्ल्डलिंकका जनसम्पर्क निर्देशक पवन शाक्यले भने। वर्ल्डलिंकका अनुसार ग्राहकले माग गरे एकजनालाई एउटा ब्यान्डविथ पनि दिने गरिएको छ।
ब्याण्डविथ ग्राहकबीच बाँड्नु भनेको एउटा घरमा जडान गरिएको खानेपानी पाइप अर्को घरले बीचमै काटेर जोड्नुजस्तै हो। 'यसो गर्न पाइन्न,' उपभोक्ता हित संरक्षण मञ्चका महासचिव ज्योति बानियाँले भने, 'सम्झौताबमोजिम सेवा नदिनु ठगी हो।'
'नागरिक'ले गरेको अनुसन्धानमा अधिकांश आइएसपीहरूले एकजनालाई बेचेको ब्याण्डविथ १६ जनासम्मलाई बाँडेको पाइयो। यसो गर्नु भनेको १ सय २८ केबिपिएस गतिको इन्टरनेट दिने सम्झौता गरेर १६ जनालाई एकै समयमा बाँड्नु हो। यसरी बाँडिएको इन्टरनेट एकजनाको भागमा बढीमा ८ केबिपिएसमात्र पर्छ। त्यसैले हो, तपाईंको इन्टरनेट कनेक्ट हुनै गाह्रो हुने वा राम्ररी नचल्ने!
आइएसपीहरूको संगठन इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइसपान) का अध्यक्ष विनय बोहोरा भने यसरी ब्यान्डविथ बाँड्नु 'अन्तर्राष्ट्रिय चलन' भएको बताउँछन्। 'सेयरिङ इन्टरनेटमा विश्वव्यापी प्रचलन हो,' उनले नागरिकसँग भने, 'सबै ग्राहकले एकैपटक नेट कनेक्ट गर्दैनन् भन्ने मान्यताका आधारमा सेयरिङ हुन्छ।'
अहिले मोबाइल र ल्यापटप प्रयोगले इन्टरनेट जहाँ र जुनसुकै बेला जोड्नसक्ने अवस्था छ अर्थात एकैपटकमा सबैले चलाउने सम्भावना प्रसस्तै हुन्छ। इन्टरनेट प्रयोगको स्वरुप बदलिए पनि आइसपीहरूले समयसापेक्ष नसुधार्दा उपभोक्ता मारमा परेका छन्। मोबाइलसहित अहिले ३० लाखभन्दा बढी इन्टरनेट प्रयोगकर्ता छन्। ग्राहक बढे पनि आइएसपीले ब्यान्डविथ क्षमता बढाएका छैनन्। ब्याण्डविथ बढाउनुभन्दा सेयरिङ गर्दा आइएसपीहरूलाई बढी लाभ हुन्छ।
'हाम्रो बढ्ता ध्यान टेलिफोन सेवातर्फ गैरहेको छ, बिस्तारै इन्टरनेट पनि गुणस्तरीय बनाउन लाग्दैछौं,' प्राधिकरणका अध्यक्ष भेषराज कँडेलले भने। प्राधिकरणले इन्टरनेटको गुणस्तरबारे बेलाबेला आइएसपीलाई निर्देशन दिएपनि उपभोक्ताले इन्टरनेटको राम्रो गति पाउन सकेका छैनन्। पछिल्लो समयमा इन्टरनेट पहुँचमा विस्तारसँगै फेसबुक, टि्वटरजस्ता चल्तीका वेबसाइटले ब्याण्डविथको खपत बढाएको छ।
उपभोक्ता ठगिएपछि सरकारले यो वर्षको बजेटमा आइएसपीले दिने सेवा गुणस्तरीय बनाउन आचारसंहिता बनाउने कार्यक्रम राखेको छ। इन्टरनेट सेवालाई गुणस्तरीय बनाउने, नियमन गर्ने दूरसञ्चार प्राधिकरणले पनि यो विषयमा मापदण्ड बनाएको छैन।
अहिले नेपालका आइएसपीहरूसँग कुल झन्डै तीन जिबी ब्याण्डविथ छ। टेलिकमले सबैभन्दा बढी १.४ जिबी लिएको छ। बाँकी निजी आइएसपी र अरू टेलिफोन कम्पनीसँग छ। पहिले भिस्याट लिंकबाट किन्नुपर्ने ब्याण्डविथ अप्टिकल फाइबरले गर्दा संसारभरि सस्तिएको छ। टेलिकम र वर्ल्डलिंकले अप्टिकल फाइबरमार्फत नै इन्टरनेट ब्यान्डविथ भित्र्याएका हुन्।
'१० वर्षअघि हामीले दुई एमबिपिएसको ब्याडविथलाई मासिक ३२ हजार अमेरिकी डलर तिर्थ्यौं,' टेलिकमका अमात्यले भने। अहिले टेलिकमले त्यही दुई एमबिपिएसका लागि तीन सय डलर तिर्छ। अन्तर्राष्ट्रिय रिसर्च संस्था टेलिजोग्राफीको ताजा अध्ययनअनुसार हङकङमा एक एमबिपिएसको २८ डलर पर्छ, अमेरिकामा ८ डलर।
ब्याण्डविथ के हो?
डाटा ट्रान्सफरको गति हो। यसलाई प्रतिसेकेन्ड बिट्स अनुपातमा नापिन्छ। नेपालका सबै आइसपीले यस्तो ब्यान्डविथ विदेशी कम्पनीसँग लिन्छन्।
इन्टरनेट गति कम भयो भनेर फोन गर्नुभयो भने आइएसपीका कर्मचारी भन्छन्, 'यहाँ सबै ठिक छ, रिकनेक्ट गर्नोस् त!' फोन राखी नसक्दै गति बढिसक्छ। हरपल ग्राहक अनुगमन गर्ने आइएसपीले गुनासो गरिएको ग्राहकलाई तत्काल सम्झौताबमोजिम ब्यान्डविथ छाडिदिन्छ।
ग्राहकले ब्यान्डविथप्लेस डट कम वा स्पिडटेस्ट डट नेटमा गए तत्काल इन्टरनेट गति थाहा पाउन सकिन्छ।
'सेयरिङ गर्न पाइन्छ'
-विनय बोहोरा
अध्यक्ष, आइसपान
गुणस्तरीय सेवा नपाएको गुनासो छ नि?
-धेरै आइएसपीले वायरलेस प्रविधिबाट इन्टरनेट दिनुपर्ने बाध्यता छ। फ्रिक्वेन्सी जुध्ने, बिजुलीको पोलमा तार झुण्ड्याएर ग्राहकको घरसम्म पुर्याउनुपर्ने, लोडसेडिङजस्ता कारणले गुणस्तरीय नभएको हो।
आइएसपीले किन सेयरिङ गरेरमात्र इन्टरनेट दिन्छन्?
सेयरिङ विश्वमै चलेको छ। आइएसपी भनेकै बढी ग्राहकबाट चल्ने भएकाले सेयरिङ गर्न हुन्न भन्ने होइन। तर, कतिजनालाई सेयरिङ गर्ने भन्ने मापदण्ड हुन्छ। ग्राहकले इन्टरनेट सेवा लिँदै कति जनालाई सेयरिङ हुन्छ भनेर बुझ्नुपर्छ। कम सेयरिङ गर्नेसँग इन्टरनेट लिँदा समस्या पर्दैन।
ग्राहकले चाहेकै ब्याण्डविथ दिन सकिँदैन?
सकिन्छ तर प्रविधि, पूर्वाधारमा सरकारले सहयोग गर्नुपर्छ। भारतीय सिमा सहरसम्म सरकारले इन्टरकनेक्सन प्वाइन्ट बनाइदिने हो भने सस्तोमा व्याडविथ किन्न सक्छौं। हामीले सस्तोमा किनेपछि ग्राहकले चाहेको व्याडविथ सस्तोमै दिन सक्छौं।
अन्तर्राष्ट्रिय बजारमा ब्याण्डविथको भाउ निकै घटेको छ नि?
हङकङमै थोकमा लिँदा एक एमबिपिएसको २८ डलर पर्छ, नेपालसम्म ल्याउन विदेशी कम्पनीको सहयोग लिनुपर्छ। एक एमबिपिएस काठमाडौंमा ल्याइपुर्याउन २५ देखि ३५ हजार रुपैयाँसम्म पर्छ।
src: nagariknews
Labels:
प्रविधि
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment