लेख तथा विचार

नेपालका राष्ट्राध्यक्ष या कार्यकारी प्रमुखहरुले सामान्यत: पहिले भारत र त्यसपछि चिन भ्रमण गर्ने परम्परा पछ्याउँदै राष्ट्रपति डा. रामबरण यादव मंगलबार चिन प्रस्थान गरेका छन्। नेपालका पहिलो राष्ट्रपतिको पहिलो चिन भ्रमण भएपनि प्राविधिक कारणबस राजकीय बनाउन नसकिएको भनिएको यो भ्रमणलाई मैत्री तथा सदभाव भ्रमण भनिएको छ। साताव्यापी उक्त भ्रमणमा राष्ट्रपतिले चिनिया विकासक्रमलाई नियाल्ने बताइएको छ। राष्ट्रपति यादव आउँदो आइतबार चिनको साङघाईमा आयोजना हुने साङ्घाई एक्स्पो-२०१०को समापन समारोहमा सरिक हुन चिन गएका हुन्,विश्वका अरु देशका राष्ट्रप्रमुखहरु पनि समापन समारोहमा सहभागी हुने भनिएको सो एक्स्पो छ महिना अघि शुरु भएको थियो।

पछिल्लो समयमा नेपालमाथिको चासो ह्वात्तै बढाएको भनिएको उत्तरी छिमेकी चिनको भ्रमणको उद्देश्यबारे राष्ट्रपतिका एकजना सल्लाहकार राजेन्द्र दाहाल भन्छन्,"एतिहासिक र परम्परागत सम्बन्ध भएको चिनसँगको सम्बन्ध प्रगाढ बनाउनु र अद्यावधिक गर्नु यो भ्रमणको उद्देश्य हो।"यसअघि चिनले राष्ट्रपतिलाई ओलम्पिक खेल समारोहमा सहभागी बन्न निम्त्याएको थियो। त्यसपछि एक्सपोको समापनका लागि निमन्त्रणा दिएको थियो।

करिब १८ सय किलोमीटर सीमाना जोडिएको र नेपालको कुटनीतिक क्षेत्रमा विशेष महत्व राख्ने भएकाले चिनको बारम्बारको आग्रहलाई महत्व दिन राष्ट्रपतिको भ्रमण तय गरिएको सल्लाहकार दाहालले बताए।
राष्ट्रपति बनेको करिब दुइ वर्ष पुगेपछि गत फागुनमा यादवले छिमेकी भारतको राजकीय भ्रमण गरेका थिए।
उत्तरी छिमेकी चिनको भ्रमण पनि सकेसम्म राजकीय बनाउने प्रयत्न चिनको प्राविधिक समस्याका कारण सम्भव हुन नसकेको अधिकारीहरु बताउँछन्।

एक्स्पो समापन समारोहमा अरु राष्ट्र प्रमुख पनि आउने भएकाले एकजनाको भ्रमणलाई मात्र राजकिय बनाउन अफ्ठ्यारो पर्ने चिनिया धारणा रहेको बताइएको छ। राष्ट्रपतिको राजकीय भ्रमण गराउन उत्तिकै आतुर रहेको भनिएको चिनले सन २०११ को शुरुवाततिरै चिनको राजकीय भ्रमण गराउने गरी तयारी भइरहेको राष्ट्रपतिको कार्यालयका उच्च स्रोतले बीबीसीलाई बताएको छ। नेपालको समेत सहभागिता रहेको सांघाई एक्सपोमा चिनिया आतिथ्य सहित त्यहाँका नेताहरुसँग परामर्श गरेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मंगलबार राती नेपाल फर्कँदै छन्।

No comments:

Post a Comment