कठिन प्रतिद्वन्द्वीलाई हराएर एपीएफले स्वदेशमा पहिलो महत्त्वपूर्ण उपाधि जितेको हो । उसले ६ वर्षे फुटबल यात्रामा यसअघि दुई प्रतियोगिताको फाइनल खेले पनि उपाधि अनुभव गर्न सकेको थिएन । वि.सं.२०६४ मा पोखराको आहा गोल्डकप र २०६५ मा आँबुखैरेनीमा भएको राष्ट्रव्यापी फुटबलको फाइनलमा एपीएफ चुकेको थियो ।
देशबाहिर भने उसले सिक्किममा दुई उपाधि जितेको छ । भारतको स्वतन्त्रता दिवस १५ अगस्तको अवसरमा भएको प्रतियोगिता उसले भदौमा जोरथाङ र २०६३ मा डेजिङमा जितेको थियो । पाँच महिनाअघि सम्पन्न सहिद स्मारक 'ए' डिभिजन लिगमा मुस्किलले रेलिगेसनबाट बँचेपछि उसले प्रतिभावान् खेलाडी समेटदै नयाँ संरचनाको टिम बनाएको थियो ।
नयाँ संरचनामा उसले प्रशिक्षक दिलकाजी गुरुङ भित्र्याएपछि घरेलु फुटबलमा बलियो चुनौती पस्कन थाल्यो । असोजमा सम्पन्न सानमिगेल नकआउट र कात्तिकमा बुटवलमा भएको तिलोत्तमा गोल्डकपमा उसले अन्तिम चारसम्मको यात्रा तय गरेको थियो । एपीएफ कम्तीमा सेमिफाइनल पुगेको काजीमान कन्दङ्वा गोल्डकप तेस्रो प्रतियोगिता हो ।
'म्यान अफ द म्याच' टोपबहादुर विष्टको पास सदुपयोग गर्दै गणेशले फाइनलको एकमात्र गोल गरेका थिए । पुलिसलाई दबाबमा राखेको एपीएफ अर्जुन सुब्बाले प्रहार गरेको बल क्रसबारमा लागेर र्फकंदा सातौं मिनेटमै अग्रता लिन चुक्यो । पहिलो हाफमै भोला सिलवालको दुई प्रहारमा बल पोस्टमा लागेर बाहिरिनु पुलिसको दुर्भाग्य रह्यो । पुलिसका गोलकिपर रितेश थापाले थुप्रै आक्रमणलाई निस्तेज पारेका थिए ।
'चिरपरिचित प्रतिद्वन्द्वी पुलिसलाई दबाबमा राखेर उपाधि ऐतिहासिक उपलब्धि हात पार्नु गर्विलो हुन्छ,' एपीएफ प्रशिक्षक दिलकाजी गुरुङले भने, 'युवा खेलाडीको जोसले जित सम्भव भयो ।' एपीएफको पुलिसमाथि यो दोस्रो जित हो । उसले दुई वर्षअघि आँबुखैरेनीमा अन्तिम चारको भेटमा पुलिसलाई १-० ले पन्छाएको थियो ।
दुई केजी चाँदी र दुई तोला सुनको ट्रफीसँगै एपीएफले १ लाख रुपैयाँ प्राप्त गर्यो । असारमा सम्पन्न सहिद स्मारक 'ए' डिभजन लिग जितेको पुलिसले उपविजेता ट्रफी र ५१ हजार रुपैयाँमै चित्त बुझायो । घरेलु नकआउट फुटबलको बाघ मानिने पुलिसले नयाँ सिजनमा खेलेका तीनै प्रतियोगितामा उपाधि चुम्न सकेको छैन ।
प्रतियोगितामा एपीएफका नीराजन मल्ल सर्वोत्कृष्ट खेलाडी, पुलिसका रितेश उत्कृष्ट गोलकिपर भए । सर्वाधिक गोलकर्ताको पुरस्कार आरसीटीका शेखर लिम्बू र एपीएफका सन्तोष श्रेष्ठले बाँडे ।
No comments:
Post a Comment